१. परिभाषा : प्रासंगिक रुपमा अर्को अर्थ नलागेमा यस लिखतमा देहायका शब्द वा वाक्यांशको अर्थ देहाय बमोजिम हुनेछ ।
२. शर्त लागू हुने : ग्राहकको यी शर्तहरुसहित परेको दरखास्त र बैंकले दिएको स्वीकृतिले ग्राहक र बैंक बीच करार खडा गर्नेछ र त्यस्तो करार बैंक र अन्य सेवा प्रदायकका बीच सम्पन्न हुने शर्तहरुको अधिनमा रहनेछ ।
३. सेवाका लागि दरखास्त : ग्राहकले सेवा प्रयोग गर्न बैंकले उपलब्ध गराएको तोकिएको मोबाइल बैंकिङ्ग सम्बन्धी दरखास्त बैंकसमक्ष पेश गर्नुपर्नेछ ।
४. सेवाका लागि दरखास्त दिने योग्यता : यो सेवा एकल खातावाला वा व्यक्तिगत रुपमा बैंकिङ्ग कारोबार गर्न अधिकारप्राप्त व्यक्तिलाई मात्र उपलब्ध गराइनेछ । संयुक्त खाता भएको अवस्थामा सेवा हासिल गर्न अन्य खातावालाको लिखित कार्यादेश अपरिहार्य हुनेछ । मोबाइल बैंकिङ्ग प्राय सबै जसो मोबाइल उपकरणमा उपलब्ध हुनेछ । सेवा प्लेटफर्मसँग ग्राहकको मोबाइल फोन अनुकुल नभएको लगायतका कारणले सेवा उपलब्ध नभएमा वा यो सेवा प्रयोग गर्दा वा प्रयोग गर्ने प्रयास गर्दा ग्राहकको मोबाइल उपकरणमा हानि वा क्षति पुगेमा बैंक जिम्मेवार हुनेछैन ।
५. संचार पद्घति : सेवाको संचार पद्घतिका रुपमा हाल एसएमएस प्रयोग गरिनेछ । बैंकको तोकिएको नम्बर (७४४७) बाट ग्राहकले चुनेको मोबाइल नम्बरमा एसएमएस पठाइनेछ । सेवासँग सम्बन्धित एसएमएसमा ग्राहकबाहेक अन्य व्यक्तिको पहुँच पुगेको कारण ग्राहकलाई हानि वा क्षति पुग्न गएमा बैंक जिम्मेवार हुने छैन ।
६. पिन : पिनको प्रयोगले बैंकलाई तोकिएको खातामा रकम (कोष) रकमान्तर गर्ने पर्याप्त अख्तियारी हुने कुरालाई ग्राहक स्वीकार्दछ । बैंकले यस अख्तियारी बमोजिम कार्य गर्दा थप सोधपूछ गरिरहन पर्नेछैन । साथै, सेवा प्रदायकमाथिको एसएमएसको निर्भरता र यसका नैसर्गिक जोखिमका कारणले एसएमएस संचारको सुरक्षित माध्यम होइन भन्ने कुरा ग्राहक स्वीकार्दछ । आफ्नो सुरक्षाको लागि ग्राहकले देहायका उपायहरु अवलम्बन गर्नेछ ।
७. उपलब्धता र उद्घोषण : बैंकले ग्राहकलाई सेवा प्रदान गर्न प्रयत्न गर्नेछ । बैंकले पूर्व सूचना दिई वा नदिई ग्राहकलाई उपलब्ध गराएको सेवा परिवर्तन गर्न सक्नेछ । कुनै निश्चित मोबाइल नेटवर्क सेवा प्रदायकको सेवा उपभोग गर्ने ग्राहकलाई मात्र सेवा प्रदान गर्ने गरि प्रस्ताव गर्ने अधिकार बैंकमा निहीत रहनेछ । तोकिएको मोबाइल नम्बरबाट मात्र सेवामा ग्राहकको पहुँच हुनेछ । मोबाइल फोन नम्बरको प्रमाणीकरण र प्रदत्त पिन वा बैंकको निर्देशनमा उल्लेखित हुन सक्ने अन्य प्रमाणीकरणका तरिकाद्वारा ग्राहकको पुष्टीकरण अन्य भएपश्चात मात्र ग्राहकको निर्देशन प्रभावकारी हुनेछ । तेस्रो पक्ष सेवा प्रदायक र सञ्चालन पद्घतिको असफलता वा कानूनी आवश्यकता लगायतका काबु बाहिरको कुनै कारणले निर्देशन कार्यान्वयनमा ढिलाईका लागि बैंक जिम्मेवार हुनेछैन । टप-अप, व्यापारी भुक्तानी, र बिल भुक्तानी सुविधाहरू जस्ता सुविधाहरू प्रदान गर्नको लागि, हामीले हाम्रा अनुप्रयोग प्रयोगकर्ताहरूलाई तिनीहरूको फोनको सम्पर्क सूचीबाट विवरणहरू ल्याउन अनुमति दिइरहेका छौं, जसको कारणले गर्दा अनुप्रयोगलाई सम्पर्क विवरणहरू प्राप्त गर्न अनुमति चाहिन्छ।
८. बैंकको अख्तियारी : यो सम्झौतालाई स्वीकारी ग्राहकले सबै मोबाइल बैंकिङ्ग कारोबारलाई प्रभाव पार्ने गरि निजको सबै खातामा बैंकको अपरिवर्तनीय र निशर्त पहुँच हुने कुरालाई स्वीकारेको छ । ग्राहकको अनुरोधलाई स्वीकार्ने वा कार्यान्वयन गर्ने प्रयोजनका लागि आवश्यकता अनुसार तेस्रो पक्षलाई खाताबारे जानकारी गराउने अख्तियारीसमेत ग्राहकले बैंकलाई प्रदान गरेको छ ।
९. उत्तरदायित्वको इन्कारी : सेवा प्रदान गरिएको भौगोलिक दायरामा ग्राहक नरहेको कारणले निजले सेवा उपभोग गर्न नपाएमा बैंक जिम्मेवार हुनेछैन । यदि ग्राहकको मोबाइल फोन नम्बर अन्य व्यक्तिलाई प्रदान गरिएको र/वा निजको खाताबाट अनधिकृत कारोबार भएको र/वा निजको मोबाइल फोन हराएको विश्वास गर्नुपर्ने कारण विद्यमान भएमा निजले बैंकलाई तत्काल जानकारी दिनुपर्नेछ । देहायको अवस्थाका लागि बैंक जिम्मेवार नहुने कुरामा ग्राहक सहमत छ ।
मोबाइल फोन नम्बरको माध्यमबाट मात्र सेवामा पहुँच हुने कुरा ग्राहक स्वीकार्दछ र ग्राहकले गरेको वा नगरेको भएपनि सो नम्बरबाट भएको कुनै पनि कारोबार ग्राहकले नै गरेको मानिनेछ । प्राकृतिक प्रकोप, कानूनी अवरोध, मोबाइल नेटवर्क प्रदायकको त्रुटी र कार्यलोप, असफल नेटवर्क, तेस्रो पक्ष सेवा प्रदायक र बैंकको काबू बाहिरको कुनै कारण लगायत कारणले सेवा उपलब्ध हुन नसकेमा बैंक कुनै पनि अवस्थामा जिम्मेवार हुनेछैन । कुनै पनि प्रत्यक्ष, अप्रत्यक्ष, आकस्मिक, आनुषाङ्गिक हानि र आयको नोक्सानी, व्यवसायमा बाधा वा ग्राहक वा अन्य व्यक्तिले बहन गरेको कुनै पनि प्रकार वा प्रकृतिको हानि नोक्सानीका लागि बैंक कुनै पनि अवस्थामा जिम्मेवार हुनेछैन । सेवाको कानून विपरित वा अनुचित प्रयोग भएमा बैंकले निर्धारण गरे बमोजिमको आर्थिक व्ययभार ग्राहकले भुक्तानी गनुपर्नेछ र परिणामतः ग्राहकलाई दिइएको सेवा निलम्बन हुनेछ ।
१०. सुरक्षा : बैंकले सेवा प्रदान गर्दा सेवा प्रयोगसम्बन्धमा दिइएका निर्देशन बमोजिम कार्य गर्न इन्कार गरिएको वा कुनै कार्यको परिणामस्वरुप बैंकले बेहोर्नु पर्ने, बहन गर्नुपर्ने, भोग्नुपर्ने सबै कारवाही, दाबी, माग, लागत, दस्तुर, खर्चबाट बैंकलाई सुरक्षित, खतरामुक्त र संरक्षित राख्न ग्राहक मञ्जुर गर्दछ । मोबाइल नेटवर्क प्रदायकको असफलता वा कमीकमजोरीका कारण सेवा प्रदानमा हुन गएको ढिलाई वा सेवा प्रदान गर्न नसकेको कारण ग्राहकलाई पुगेको हानि नोक्सानीबाट समेत बैंकलाई ग्राहकले सुरक्षित बनाएको छ । ग्राहक बैंकलाई सुरक्षित पार्न र देहायको कार्यको परिणामस्वरुप भएको हानि नोक्सानीबाट सुरक्षित पार्न सहमत छ ।
११. शुल्क : बैंकलाई सेवामा लाग्ने शुल्क निर्धारण गर्ने र ग्राहकलाई पूर्व सूचना दिई वा नदिई समय समयमा आवश्यकता अनुसार शुल्क परिमार्जन गर्ने एकल स्वविवेकाधिकार हुनेछ । साथै, मोबाइल नेटवर्क प्रदान गरे बापत लागेको सम्पूर्ण शुल्क मोबाइल नेटवर्क प्रदायकलाई तिर्ने एकल जिम्मेवारी ग्राहकको हुनेछ ।
१२. संशोधन : बैंकलाई कुनै पनि समय कुनै पनि शर्त संशोधन गर्ने वा थप शर्त निर्धारण गर्ने पूर्ण स्वविवेकाधिकार हुनेछ र त्यस्ता संशोधित शर्त ग्राहकलाई लागू हुनेछ र निजका लागि बाध्यात्मक हुनेछ ।
१३. समाप्ति : सेवा अन्त्य गर्न ग्राहकले बैंकलाई लिखित सूचना दिनुपर्नेछ । यसरी सेवा समाप्त गर्नुभन्दा अघि ग्राहकको मोबाइल फोन नम्बरबाट भएका सबै कारोबारप्रति ग्राहक उत्तरदायी रहनेछ । बैंकले आफ्नो स्वविवेकमा ग्राहकलाई पूर्व सूचना दिई वा नदिई कुनै पनि समयमा पूरै वा आंशिक रुपमा सेवा अस्थायी रुपमा फिर्ता लिन वा समाप्त गर्न सक्नेछ । मर्मत सम्भार कार्य वा आकस्मिक कारण परेमा वा सुरक्षासमेतका कारणले बैंकले पूर्व सूचना नदिई कुनै पनि समयमा सेवालाई निलम्बन गर्न सक्नेछ । ग्राहकले खाता बन्द गरेमा सेवा स्वतः समाप्त हुनेछ । ग्राहकले यी शर्तहरु उल्लंघन गरेमा वा ग्राहकको मृत्यु, टाट पल्टाई वा कानूनी क्षमताको अभाव भएको जानकारी हुन आएमा वा बैंकले उचित ठानेको अन्य कुनै अवस्थामा बैंकले पूर्व सूचना नदिई सेवा निलम्बन गर्न वा समाप्त गर्न सक्नेछ ।