Logo
  • 0

श्री गोविन्द घिमिरेले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा जिम्मेवारी सम्हालेका छन्। नेपालको बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव तथा बैंक भित्रको दीर्घकालीन नेतृत्व भूमिकासहित, उनले संस्थागत गहिरो समझदारी र भविष्यतर्फ लक्षित दृष्टिकोण ल्याएका छन्।

श्री घिमिरे २०६६ सालदेखि एनएमबी बैंकको मुख्य नेतृत्व टोलीमा रहँदै आएका छन्। उनले नायव प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, तथा व्यवसाय बैंकिङ विभागको नेतृत्वसमेत सम्हालिसकेका छन्। यस अवधिमा उनले कर्पोरेट, साना तथा मझौला उद्यम (एसएमई) र रिटेल बैंकिङको विस्तारसँगै व्यापार वित्त, क्रेडिट जोखिम, रणनीतिक योजना, र सञ्चालन रुपान्तरणका क्षेत्रहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले एनएमबी माइक्रोफाइनान्सको सञ्चालक समिति सदस्यको रूपमा समेत सेवा पु¥याएका छन् र बैंकका विभिन्न रणनीतिक तथा गभर्नेन्स समितिहरूमा सक्रिय रहेका छन्।

उनी श्री सुनील के.सी.को उत्तराधिकारीका रूपमा नियुक्त भएका हुन्। श्री के.सी.ले एनएमबी बैंकको नेतृत्व १७ वर्षसम्म सम्हाल्दै, दिगोपन, वित्तीय समावेशीकरण, र नैतिक बैंकिङको आधार निर्माणमा उल्लेखनीय योगदान पु¥याएका थिए। बैंकले उनको दूरदर्शी नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछ।

सीईओको रूपमा आफ्नो पहिलो सन्देशमा श्री घिमिरेले भनेः

“म मेरो दीर्घ अनुभव, दृष्टिकोण र समर्पणमार्फत एनएमबी बैंकलाई अझ सशक्त, समावेशी र डिजिटल युगसँग सुसंगत बनाउनेतर्फ अग्रसर रहनेछु। हामी सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै, वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ अघि बढ्नेछौं। सुदृढ सेवा प्रवाह, दिगो वित्तीय समाधान र नवीनतम प्रविधिको माध्यमबाट हामी ग्राहक, समुदाय र राष्ट्रसँगको सम्बन्धलाई अझ गहिरो बनाउनेछौं।”

श्री घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट वित्तमा स्नातकोत्तर तथा कानूनमा स्नातक उपाधि हासिल गरेका छन्। शान्त नेतृत्वशैली र स्पष्ट रणनीतिक दृष्टिकोणका लागि परिचित, उनी नेपालका बैंकिङ क्षेत्रभित्र प्रगतिशील र उद्देश्य–केन्द्रित बैंकिङका लागि व्यापक रूपमा सम्मानित व्यक्तित्व हुन्।

उनको नेतृत्वमा, एनएमबी बैंकले निरन्तरता, विश्वास र साझा प्रतिवद्धताको आधारमा समृद्ध नेपाल निर्माणतर्फको नयाँ अध्याय सुरु गरेको छ।

एनएमबी बैंकको बारेमा

एनएमबी बैंक नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो जसले व्यक्तिगत, साना तथा मझौला उद्यम, ठूला कर्पोरेट तथा विकास परियोजनाहरूसम्म सम्पूर्ण वित्तीय सेवा प्रदान गर्दै आएको छ। देशव्यापी सञ्जाल तथा बलियो डिजिटल पूर्वाधारसहित, बैंकले दिगो बैंकिङ, नवप्रवर्तनशील समाधान र उत्तरदायी वृद्धिमा केन्द्रित सेवा प्रदान गर्दै आएको छ।

एनएमबी बैंकले बेलायतको ‘द बैंकर’ पत्रिकाबाट “बैंक अफ द इयर – नेपाल” को उपाधि पटक–पटक जितेको छ। सुदृढ शासन प्रणाली र दीर्घकालीन मूल्य सिर्जनाप्रतिको प्रतिबद्धतासहित, एनएमबीले नैतिक बैंकिङ र वित्तीय समावेशीकरणका क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ।

श्री गोविन्द घिमिरेको नियुक्तिसँगै, एनएमबी बैंकले विश्वास, नवप्रवर्तन र उद्देश्य–केन्द्रित नेतृत्वद्वारा समृद्ध नेपाल निर्माण गर्ने आफ्नो दृष्टिकोण थप सशक्त बनाएको छ।


Back to